
गएराति धादिङको थाक्रे गाउँपालिका–७ सातकिला नजिक बस दुर्घटना हुँदा एकजनाकाे मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् । भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको तीर्थयात्री बोकेको बा ३ ख ८९२३ नम्बरको बस आफैं अनियन्त्रित भई दुर्घटना भएको थियाे ।
राति करिब १० बजे बस अनियन्त्रित भई पृथ्वीलोकमार्गमा दुर्घटनामा परी गम्भीर घाइते भएकी दोलखा भिरकोटकी ५० वर्षीया पार्वती काफ्लेको नेपाल प्रहरी अस्पताल, महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै अन्य घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १४ जनाको अवस्था मध्यम र ७ जनाको अवस्था सामान्य रहेको छ भने उनीहरूलाई धादिङको साइबाबा अस्पताल, काठमाडौंको बाँसबारी न्युरो अस्पताल, ट्रमा सेन्टर, र नेपाल प्रहरी अस्पताल मा उपचारका लागि लगिएको प्रहरीले जनाएकाे छ ।