
काठमाडौं महानगरपालिकाले पाँच दर्जनलाई निःशुल्क तालिम दिने भएको छ । महानगरको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्तर्गत ६० जनालाई निःशुल्क व्यवसायिक तथा सीपमूलक तालिम प्रदान गर्न लागिएको हो ।
महानगरका अनुसार काष्ठकला, मूर्तिकला र हस्तकलासम्बन्धी तीन महिने निःशुल्क तालिम सञ्चालन गरिँदैछ । प्रत्येक तालिममा २०–२० जना सहभागी गराइने छ । तालिममा सहभागी हुन इच्छुकलाई महानगरको सामाजिक विकास विभागमा आउँदो फागुन ५ गतेसम्म आवेदन फाराम पेश गर्न आह्वान गरिएको छ ।
सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका सामाजिक विकास विभागद्वारा आव २०८१–८२ को ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्तर्गत निःशुल्क सीपमूलक तालिम सञ्चालन हुँदैछ । इच्छुक नेपाली नागरिकले २०८१–११–०५ गतेभित्र आवेदन दिन सक्नुहुन्छ ।’
तालिममा सहभागी हुन १८ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । त्यस्तै, न्यूनतम आठ कक्षा उत्तीर्ण हुनुपर्छ । यससम्बन्धी थप जानकारी महानगरबाट प्राप्त गर्न सकिनेछ ।