Advertisement Banner
Advertisement Banner

०१ बुधबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

धरहरा प्रवेश शुल्कबाट तीन महिनामा डेढ करोड राजस्व सङ्कलन

२९ मंगलबार , माघ २०८१५ महिना अगाडि

धरहरा प्रवेश शुल्कबाट तीन महिनामा डेढ करोड राजस्व सङ्कलन

गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा प्रवेश शुल्कबापत १ करोड ५२ लाख राजस्व सङ्कलन भएको छ । धरहरा सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत १ करोड ५२ लाख राजस्व सङ्कलन भएको हो ।

गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको ऐतिहासिक धरहराबाट यही माघ २४ गते बिहीबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिएका छन् ।

धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ भए विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यसैगरी सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति एक हजार प्रवेश शुल्क तोकिएको छ । गत मङ्सिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि माघ १५ गतेदेखि थप एक घण्टा बढाइएको छ । माघ १४ गतेसम्म ३ : १५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएकोमा अहिले समय थप गरी ४ : १५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने भएको हो ।

त्यस्तै, प्रत्येक बुधबार धरहरा बन्द रहने र अन्य दिन धरहरा चढ्न आउनेको सङ्ख्या दैनिक एक हजार दुई सयको हाराहारीमा रहेको पनि आयोजनाका निर्देशक अर्यालले जनाएका छन् । त्यसैगरी उक्त स्थानमा पार्किङ गर्दा चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० र दुईपाङ्गे्र सवारीका लागि रु १० तोकिएको छ भने धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको छ ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ, व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा ५ हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको समेत निर्देशक अर्यालले जानकारी गराएका छन् ।