
काठमाडौं महानगरपालिकाले ३६ स्थानमा ‘अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ्’ (पेलिकन) प्रणाली जडान गरेको छ । महानगरभित्रका ३३ सामुदायिक विद्यालय र ३ अस्पताल वरपर गरी ३६ वटा स्थानमा ‘पेलिकन’ प्रणाली जडान गरिएको हो ।
जेब्राक्रसतिर हरियो र सवारी गुड्नेतर्फ सडकमा रातो बत्ती बालेर पैदलयात्रीले सडक पार गर्ने प्रणाली पेलिकन हो । महानगरले पहिलो पटक यो प्रणाली बागदरबार र त्यसपछि बबरमहलमा परीक्षणका लागि जडान गरेको थियो ।
त्यसबाट सकारात्मक नतिजा प्राप्त भएपछि अन्य स्थानमा पनि राख्ने योजनाअनुरुप काम गरिरहेको महानगरले जनाएको छ । पेलिकन प्रणालीबाट पैदल यात्रा सुरक्षामा नयाँ आयाम थपिने महानगरको विश्वास छ ।
यो प्रणालीमा पैदलयात्रीले स्विच थिचेपछि कम्तीमा ६० सेकेन्डमा जेब्राकसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एक पटक थिचेपछि सडकको चौडाई र पैदलयात्रीको चापअनुसार ८ देखि २० सेकेन्ड हरियो बत्ती बल्छ ।
जुन विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गाइडलाइनबाट पनि निर्देशित छ । यस्तै, पहिलो पैदलयात्रीको हरियो बत्ती बलेको अवधि सकिएपछि पुनः १ देखि २ मिनेटमा मात्र अर्को पैदलयात्रीले क्रस गर्न सक्छन् । अर्थात्, १ देखि २ मिनेटपटि मात्र जेब्राक्रसतर्फ फेरि हरियो बत्ती बाल्न सकिन्छ ।
महानगरका अनुसार अहिले पेलिकन प्रणाली जडान गरिएका ३६ स्थानमा पैदलयात्रीको चाप ठूलो हुने गरेको छ । यसले गर्दा दुर्घटना जोखिम बढ्नुका साथै यसअघि पटकपटक पैदलयात्रीहरु दुर्घटनामा परिसकेको तथ्याङ्क छ ।
प्रणाली जडानसँगै पैदलयात्रीहरुले सवारीसाधन रोकिएको यकिन भएपछि मात्र सडक पार गर्न सक्नेछन् । यसले दुर्घटना हुने सम्भावना निकै घटाउने विश्वास लिइएको छ । अर्कोतर्फ, स्कुले बालबालिका र अस्पतालमा आवतजावत गर्ने बिरामीलाई पनि पेलिकनले सडक सुरक्षा प्रदान गर्ने छ ।