
भक्तपुर नगरपालिकाले राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको छ । वडा नम्बर २, स्थित नगरपालिकाको कार्यालयबाट आजदेखि परिचयपत्र वितरण गर्न थालिएको हो ।
कार्यालयको राष्ट्रिय परिचयपत्र वितरण कक्षबाट नगर प्रमुख सुनिल प्रजापतिले सबैभन्दा पहिला परिचयपत्र प्राप्त गरे । त्यसपछि अन्य सेवाग्राहीलाई पनि परिचयपत्र वितरण गरिएको छ ।
नगरपालिकाका अनुसार राष्ट्रिय परिचयपत्र लिन आउँदा सेवाग्राहीले फोटो खिचाउँदा प्राप्त गरेको आवेदन रुजु फाराम (कन्फरमेसन पेज) अथवा मोबाइलमा आएको एसएमएसका साथै आफ्नो परिचय खुल्ने कागजात साथमा ल्याउनुपर्छ ।
ज्येष्ठ नागरिकको हकमा पनि यी कागजातका साथै निजको संरक्षक अनिवार्य रुपमा उपस्थित हुनुपर्ने नगरपालिकाले जनाएको छ ।