
अस्कल क्याम्पस मदन भण्डारी स्पोट्र्स एकेडेमीका उपाध्यक्ष प्रकाश वयकमाथि निर्घात कुटपिट भएको भन्दै नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ । आज विज्ञप्ति जारी गर्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेका छन् ।
उनका अनुसार हिजो साँझ ७ गते नेपाल प्रहरीको प्रतिनिधि हुँ भनेर कल गर्दै वयकलाई अस्कल होस्टल बाहिर सीएसआईटी फर्म भर्नका निम्ति बोलाइएको थियो । होस्टल बाहिर पुगेपछि सोधपुछ गर्नु छ भन्दै हत्कडी लगाएर दरबारमार्ग वृत्तको प्रहरीले टोखा लगी विभिन्न आरोप लगाएर मुद्दा चलान गर्ने धम्की दिँदै कुटपिट गरेको अनेरास्ववियुको ठहर छ ।
‘बिना कसु्र अस्कल क्याम्पस मदन भण्डारी दरबारमार्ग वृत्तको प्रहरीले टोखा लगेर विभिन्न आरोप लगाएर मुद्दा चलान गर्छु भनी धम्की दिँदै नाक, मुख र आँखा सुन्निे गरी कुटपिट गरी वीर अस्पतालमा चेकजाँच गराएर राति २ बजे घटनालाई बुझाएको घटनाप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीको यस किसिमको गैरकानूनी तवरको धरपकड र ज्यादती निन्दनीय रहेको भन्दै अनेरास्ववियुले तत्काल घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । अन्यथा, कडाभन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।