Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

‘चिकित्साका चौध तारा’

०३ शनिबार , फाल्गुण २०८१एक बर्ष अगाडि

‘चिकित्साका चौध तारा’

लेखक पत्रकार राजेश खनालको ‘चिकित्साका १४ तारा’ पुस्तकमाथि विशेष विमर्श सम्पन्न भएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित विमर्श कार्यक्रममा चर्चित दुई चिकित्सक तथा साहित्यकारहरुले पुस्तकमाथि चर्चा गरे ।

पुस्तकमा नेपालको चिकित्सा क्षेत्रमा क्रियाशील १४ जना अग्रज चिकित्सकहरुको भूमिका, संघर्ष र तत्कालीन अवस्थाबारे लेखिएको छ । यसभित्र डा. कृष्णजंग राणा, डा. गौरीशंकर लाल दास, डा. दिनेशनाथ गोङ्गल, डा. मणिन्द्ररञ्जन बराल, डा. मृगेन्द्रराज पाण्डे, डा. यन्तमणि प्रधान, डा. रामप्रसाद पोखरेल, डा. लोकविक्रम थापा, डा. विश्वराज दली, डा. शंकरप्रसाद उप्रेती, डा. सरस्वती पाध्ये, डा. सुदीपकुमार भट्टाचार्य, डा. सुन्दरमणि दीक्षित र डा. हेमाङ्ग दीक्षितको व्यक्तिवृत्त र दुई अग्रज चिकित्सकहरु डा. अञ्जनीकुमार शर्मा र डा. बुद्धिमान श्रेष्ठको सम्झना संस्मरण समावेश छ ।

चिकित्सा, साहित्य र राजनीतिको चर्चा गर्दै नेपालका चिकित्साका ताराहरुलाई नै किताबमा लेखकले प्रस्तुत गरेको मनोचिकित्सक तथा मानसिक अस्पताल पाटनका निर्देशक डा. अनन्त अधिकारीले बताए ।

उनले पुस्तकमाथि चर्चा गर्दै यो पुस्तकमा समेटिएका तथ्य तथा घटना अहिलेको पुस्ताका निम्ति प्रेरक बन्नसक्ने बताए ।

स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले पुस्तकमाथि चर्चा गर्दै यो स्वास्थ्य क्षेत्रसँग सरोकार राख्ने हरेकका लागि ऐना भएको बताए । चिकित्सा पेशा आफैंमा डंकी र रिस्की पेशा भएको तथ्य पुस्तकले उल्लेख गरेको भन्दै ताम्राकारले भने, “राम्रो सुरुवात भएको छ । यस्ता पुस्तक सबैले पढ्नुपर्छ ।”  

चिकित्साका १४ तारा अग्रजहरुको सम्मानमा लेखिएको ऐतिहासिक पुस्तक भएको निबन्धकार तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले बताए । उनले यो पुस्तक निबन्ध कृति भएको बताउँदै राजेशको किताब नेपालको स्वास्थ्य क्षेत्रका लागि इतिहास भएको उल्लेख गरे ।

प्रतिष्ठानका अध्यक्ष कवि छविरमण सिलवालले संस्थाको उद्देश्यमाथि प्रकाश पार्दै आगामी दिनमा विविध साहित्यिक क्रियाकला गर्दै जाने बताए । लेखक राजेश खनालले पुस्तक लेखन र प्रकाशनका विषयमा आफ्नो धारणा राखे ।

पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो ।