
खोटाङको हलेसीमा भीषण आगलागी हुँदा तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर नष्ट भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानको हलेसी बजारमा भएको भीषण आगलागीबाट होटल र लघुवित्तको कार्यालय जलेर नष्ट भएको हो ।
हिँजो साँझ हलेसी बजारमा रहेको एउटा ग्यास पसलबाट आगो लाग्न सुरू भएको र २ घण्टापछि आगो नियन्त्रणमा लिइएको बताइएको छ । हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईका अनुसार स्थानीय, सुरक्षाकर्मी लगायतले आगो नियन्त्रण्मा लिएका थिए ।
पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट आगो लाग्न सुरु भएको थियो । राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि जलेको छ ।
त्यस्तै आगोलागीबाट नजिकै रहेको छिमेकी प्रकाशचन्द्र गिरीको घरमा पनि क्षति पुगेको छ भने आगलागीबाट के कति क्षति भएको छ भन्ने विवरण आईसकेको छैन ।