
मुलुकभर पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण उच्च पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातसंगै सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ । त्यस्तै तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको बताइएको छ ।
विभागका अनुसार सातवटै प्रदेशमा आंशिक बदली रहने र पाँचवटा प्रदेशमा हिमपातको सम्भावना रहेको बताइएको छ । मधेस र लुम्बिनीबाहेकका पाँचवटा प्रदेशमा हिमपातको सम्भावना रहेकोछ भने राति उक्त प्रदेशमा बदलीमात्र हुने विभागले जनाएको छ ।