
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा सर्लाहीको प्रादेशिक अस्पताल मलङ्गवामा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ । आज बिहान प्रजातन्त्र दिवस जिल्ला स्तरीय मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंहको नेतृत्वमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको हो ।
प्रादेशिक अस्पतालमा उपचाररत बिरामीलाई संयोजक सिंह, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्रकुमार महतोलगायतले फलफूल वितरण गरेका थिए ।
सर्लाही जिल्लामा प्रजातन्त्र दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउने निर्णय गर्दै प्रजातन्त्र दिवस जिल्ला स्तरीय मूल समारोह समिति गठन गरिएको छ । दिवसको मुख्य दिन भोलि फागुन ७ गते बुधवार सदरमुकाम मलङ्गवामा प्रभातफेरी, झण्डोत्तोलन तथा मञ्चको कार्यक्रम, रक्तदान र जनप्रतिनिधि तथा कर्मचारीबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ ।