
आजभन्दा ७५ वर्ष अघि २००७ साल फागुन ७ गते निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झनामा आज ७५औँ प्रजातन्त्र दिवस मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलकाे सहभागीतामा प्रजातन्त्र दिवसकाे अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस मनाउन लागिएकाे हाे ।
प्रजातन्त्र स्थापनाका लागि आफ्नाे जीवनकाे आहुति दिने ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवस मनाउन लागिएकाे हाे । प्रजातन्त्र स्थापना भएको ७४ वर्षपछि सार्वभौम नेपाली नागरिकले संघिय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकार प्राप्तिको अभ्यास गरिरहेका छन् ।
शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेसँगै उक्त जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै हरेक वर्ष फागुन ७ गते देशभर प्रजातन्त्र दिवस मनाउन थालिएकाे हाे ।
यस दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ भने राष्ट्रप्रमुख, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा शीर्ष नेतृत्वहरुले देशबासीलाई छुट्टा–छुट्टै शुभकामना सन्देश दिएका छन् ।