
गएराति दाङको बबईमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०७०१ नम्बरको बस दाङको बबई गाउँपालिका-२ स्थित तल्लो ट्वाङ्खोला नजिक दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् ।
बस गएराति साढे ९ बजे पूर्वपश्चिम राजमार्गको बबई गाउँपालिका-२ स्थित तल्लो ट्वाङ्खोला नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायाले जानकारी दिएका छन् । दुर्घटनामा अधिकांशलाई सामान्य चोट लागेकोले उपचारपछि डिस्चार्ज गरिएको बताइएको छ ।
दुर्घटनामा केहीलाई गम्भीर चोट लागेकोले थप उपचारका लागि कोहलपुर रेफर गरिएको र अन्य घाइतेहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । सबै घाइतेहरू हाल खतरा मुक्त रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रोकायाले जनाएका छन् ।