
नेपाल र इजरायलबीच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिकलाई पठाउन सुरु गरिएको छ । यसअघि नेपाली श्रमिक पठाउन युद्धको कारण रोकिएको भएपनि गाजामा युद्धविरामपछि सरकारले दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर)का लागि नेपाली श्रमिकलाई पुनः इजरायल पठाउन सुरु गरेको हो ।
केयरगिभरका लागि पहिलो चरणमा छानिएका ९ सय १९ जनामध्ये (२ पुरुष, ११ महिला) १३ जना मंगलबार श्रम गन्तव्यका लागि इजरायल उडेको वैदेशिक रोजगार विभाग अनुगमन तथा जीटूजी सहजीकरण शाखाले जनाएको छ । शाखाका अनुसार पहिलो चरणमा केयरगिभरका लागि जाने नेपाली श्रमिक ८२ जनाको भिसाको लागेको छ ।
नेपाल र इजरायलबीच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउन थालेको नेपालस्थित इजरायली दूतावासले जनाएको छ । दूतावासका अनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने कामदारहरूको पहिलो समूहलाई इजरायल पठाइएको हो ।
नेपाली श्रमिकलाई नेपालका लागि इजरायली राजदूत खनान गोदेर, वैदेशिक रोजगार विभाग र श्रम मन्त्रालयका प्रतिनिधिहरूले फुल मालासहित बिदाइ गरेका थिए । इजरायलको लागि योग्यता पुगेर छानिएका ३ हजार ४ सय ६१ जनाको सूचीबाट लक्की ड्रको आधारमा २ हजार १ सय १२ जना छानिएकोमा पहिलो ९ सय १९ जनालाई पठाउने प्रक्रिया अगाडि बढाइएको बताएको छ ।
प्रक्रिया अगाडि बढाइएको ९ सय १९ मध्ये ८२ जनाको भिसा लागिसकेको छ भने अन्यको प्रक्रियामा रहेको छ । अब इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपाली कामदार १ हजार ३ सय ४५ जना कार्यरत हुने शाखाले जनाएको छ ।