
कोशी प्रदेशमा प्रथम राष्ट्रिय बाँस सम्मेलन आजदेखि सुरू भएकाे छ । तीन दिनसम्म चल्ने प्रथम बाँस सम्मेलनकाे वनमन्त्री ऐनबहादुर शाही ठकुरीले उद्घाटन गरेका छन् ।
खोटाङको दिक्तेलमा ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मुल नाराका साथ सुरू भएकाे प्रथम राष्ट्रिय बाँस सम्मेलनमा सातै प्रदेश र तीनै तहको सरकारको सहभागिता रहेको बताइएकाे छ ।
उक्त सम्मेलनमा विभिन्न प्रदेशका करिब २० वटा स्थानीय तह सहभागीता रहेकाे छ । तीन दिनसम्म चल्ने सम्मेलनमा बाँसका सामग्री बिक्रीवितरण गर्ने व्यवसायी तथा किसानको सहभागीता रहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा १७ गते सम्म चल्ने उक्त सम्मेलनमा विभिन्न विषयगत क्षेत्रमा कार्यपत्र प्रस्तुत गरिने नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिएका छन् ।
प्रथम राष्ट्रिय बाँस सम्मेलनमा दिक्तेलमा बाँस र उपयोगदेखि जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलतामा बाँसको भूमिकालगायत ११ वटा विषयगत छलफल हुने पनि नगरप्रमुख भट्टराईकाे भनाइ रहेकाे छ । नेपालमा ५२ प्रजातीका बाँस पाइने भएपनि स्थानीय स्तरमा मुख्यतया दुई जातको बाँस पाइने र जसमा बाँस, निगालो र कहि कहि मालिङ्गो समेत समेटिने गरेकाे पाइन्छ ।
विश्वमा कूल जंगलको क्षेत्रफल मध्ये बाँसले ३.२५ प्रतिशत क्षेत्रफल अर्थात् ३६ करोड हेक्टर क्षेत्रफल ओगटेको पाइन्छ भने विश्वका करिब २.५ अरब मान्छेले बाँसबाट बनेको सामाग्री उपभोग गर्ने गरेका छन् ।