
आज बिहान सात बजेतिर सप्तरीको फत्तेपुरमा बाघले आक्रमण गर्दा दुईजना घाईते भएका छन् । बिहान सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका–१, फत्तेपुरको खोरिया टोल वस्तीमा बाघ पसेर आक्रमण गर्दा स्थानीय दुई जना घाइते भएका हुन् ।
आक्रमणबाट ४३ वर्षका कृष्ण विष्ट र ५५ वर्षका गणेश खत्री घाइते भएको प्रहरीले बताएको छ । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्सपेक्टर उदय कुमार राईले जानकारी दिएका छन् ।
इन्सपेक्टर राईका अनुसार आज बिहान सात बजेतिर बस्तीमा बाघ पसेको खबर पाए लगत्तै फत्तेपुरको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली वस्तीमा परिचालित गरिएको थियो ।
बाघ कोशीटप्पु वन्यजन्तु आरक्षबाट बस्तीमा आएको हुनसक्ने अनुमान गरिएको छ भने बाघलाई जंगल क्षेत्रमै फर्काउने प्रयास भइरहेको बताइएको छ ।