
हिँजाेदेखि लुम्बिनीकाे मायादेवी मन्दिर परिसरमा श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम सुरू भएकाे छ । बुद्धकाे जन्मस्थल लुम्बिनीकाे मायादेवी मन्दिर परिसरमा पाँच सय जनालाई बौद्ध धर्मगुरूबाट पहेँलो चीवर प्रदान गरी श्रामणेर प्रबज्या सुरू गरिएकाे हाे ।
मायादेवी मन्दिर परिसरमा हिँजाे अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघकाे आयोजना तथा लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सह–आयोजनामा कूलपुत्र प्रबज्या गराइएको थियाे । उक्त अवसरमा सङ्गनायक बोधीसेन महास्थवीर, अखिल नेपाल भिक्षु महासङ्घ अध्यक्ष महास्थवीर धम्म शोभन, थाई धम्मदूतका फरा उपाझ्याए पभनासहित बौद्ध धर्म गुरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताए । उनले शान्तिका लागि बुद्धको शिक्षा उपयोगी रहेको र यहाँको विकासका लागि थाइल्याण्ड सधैँ सहकार्य गर्न तयार रहेको उल्लेख गरेका थिए ।
त्यसैगरि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई छोटो अवधिका लागि भए पनि व्यवहारमा लागू गर्ने उक्त कार्यक्रम महत्वपूर्ण रहेको बताए । लामाले बुद्ध दर्शन समुदाय, व्यक्ति विशेष नभइ मानव जीवनका लागि महत्वपुर्ण भएकाले कार्यक्रममा सहभागी बसैलाई धन्यवाद सहित बधाइ दिएका थिए ।