
नेपाल पत्रकार महासंघले प्रश्न सोधेको आधारमा संघीय संसद् सचिवालयले पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । प्रश्न सोधेको आधारमा संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकोमा ध्यानाकर्षण भएको जनाएको हाे ।
पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीले प्रधानमन्त्री ओलीमाथि अमर्यादित शब्द प्रयोग गरेको भन्दै उनिहरूको पास निलम्बन गरेकाे थियाे । यसअघि फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लघंन भएको भन्दै संघीय संसद् सचिवालयले उनीहरूको पास निलम्बन गरेको हो ।
यता महासंघले पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए-नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको भएको भन्दै पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गरेको छ ।
त्यस्तै पत्रकार महासंघले पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न पत्रकार तथा सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको छ ।