
काठमाडौँबाट २० किलो चाँदीसहित पाँच जना पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेकाे हाे ।
राजस्व छली गरि चोरी पैठारी मार्फत ल्याइएको चाँदीको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बतइएकाे छ । पक्राउ पर्नेहरूमा बाराका ३४ वर्षीय सन्तोषकुमार साह, ३५ वर्षीय प्रेमकुमार कुशवाहा, २६ वर्षीय गणेश साह र २१ वर्षीय विपना सार्की तथा पर्साका ३२ वर्षीय दीनानाथकुमार साह रहेका छन् ।
प्रहरीले उनीहरुका साथबाट पैसा गन्न प्रयोग हुने मेसिन एक थान, डिजिटल तराजु दुई थान, चार थान मोटरसाइकल र विभिन्न कम्पनीका छ थान मोबाइल बरादम गरेको छ ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् ।