
काठमाडौंको साँखुस्थित बालबालिकाको आश्रयस्थलमा टिपर दुर्घटना हुँदा तीनकाे मृत्यु भएकाे छ । आज बिहान बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडक छेउको आश्रयस्थलमा पस्दा टिपरकाे ठक्करबाट तीनजनकाे मृत्यु भएकाे हाे ।
बालबालिकाको आश्रयस्थलमा टिपरको ठक्करबाट मष्तिष्काघात भएका तीन जनाको मृत्यु भएको आश्रयस्थलका अध्यक्ष युवराज थापाले जानकारी दिएका छन् । साँखुस्थित शंकरापुर नगरपालिका-६, सलम्बुटारमा द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा बिहान ३ बजे उक्त दुर्घटना भएकाे बताइएकाे छ ।
साँखु ब्रह्मखेल खण्डमा गुडिरहेको टिपर अनियन्त्रित भई सडक छेउको आश्रयस्थलको टहराभित्र पसेको थियो । दुर्घटना लगतै घाइतेहरूलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी पुर्याएकोमा चिकित्सकले मृत घाेषणा गरेका साँखु प्रहरीले जनाएकाे छ ।
उक्त दुर्घटनाका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको छ भने दुर्घटनामा परेकाे टिपरलाई डोजर लगाएर बाहिर निकालिएको प्रहरीले जनाएको छ ।