
भोलि चैत्र ४ गतेबाट प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर सहित ९ जना प्रहरी अधिकारी अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी नियमावलीमा उल्लेख भए अनुसार ३० वर्षे सेवा अवधिका कारण भोलिबाट आईजी कुँवरसँगै ९ प्रहरी अधिकारी निवार्य अवकाशमा जान लागेका हुन् ।
उनीहरु चैत ४ गते राति १२ बजे बाट अवकाशमा जान लागेका हुन् । आईजी कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई, बुद्धिराज गुरुङ, कुवेर कडायत, दुर्गा सिंह र जनकराज भट्टराई अवकाशमा जाँदै छन् । त्यस्तै प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्द, भोला रावल र धुर्वराज राउत भोलि चैत्र ४ गते अनिवार्य अवकाशमा जाँदैछन् ।
उनीहरू २०५१ साल चैत्र ५ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । यसअघि उमेर हदका कारण यहि ब्याचका एआईजी, डीआईजीहरू अवकाशमा गएका थिए भने उनीहरूसँगै प्रहरी सेवामा प्रवेश गरेका एसपीद्वय श्यामकुमार राई र सञ्जयबहादुर राउत पनि केही दिनअघि मात्रै अवकाशमा गएका छन् ।
यो संगै आईजीसहितका व्यक्ति अवकाशमा जाने भएपछि आईजीदेखि एआईजी, डीआईजी बढुवाका लागि प्रतिस्पर्धा हुने भएको छ । आईजीको प्रतिस्पर्धामा एआईजी दीपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ रहेका छन् भने एक जना आईजीमा बढुवा भएसँगै एआईजी र डीआईजी बढुवाको बाटो खुल्ने छ ।