
आजदेखि सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवरको स्थानमा नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको छ । आईजीपी कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेपछि नयाँ आईजीपी नियुक्तका लागि बैठक बोलाइएको हो ।
यसअघि २०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर आजदेखि सेवा निवृत्त हुँदैछन् । आईजीपी नियुक्त गर्नुअघि नै कुँवरसहितका उच्च प्रहरी अधिकारीहरू अवकाश हुने भएपछि अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
आजको बैठकले नेपाल प्रहरीको ३१औं आईजीपी नियुक्त गर्ने निर्णय गर्ने र नयाँ नियुक्ति भएका आईजीपीले आज राति १२ बजेबाट पदभार ग्रहण गर्ने बताइएको छ । मन्त्रिपरिषद्ले नियुक्त गरेको नयाँ आईजीपीले दर्ज्यानी चिह्न (फुली) लगाएपछि मात्र पदभार सम्हाल्ने परम्परा रहेको छ ।
आईजीपी कुवरको अवकाशपछि वरिष्ठ एआईजी दीपक थापाले कार्यवाहक आईजीपीको जिम्मेवारी सम्हाल्नेछन् भने सम्भवतः मन्त्रिपरिषद्ले थापालाई नै नयाँ आईजीपीका रूपमा नियुक्त गर्ने सम्भावना रहेको छ ।
आईजीपी कुँवरसंगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिबहादुर गुरुङ, दुर्गा सिंह, कुबेर कडायत, जनक भट्टराई तथा डीआईजीहरू ध्रुवबहादुर रावल, गणेश चन्द, र ध्रुव राउत पनि आजै अवकाश हुँदैछन् । सेवा अवधि ३० वर्ष पूरा गरेका आईजीपी कुँवरसहितका अधिकृतहरूको औपचारिक बिदाइका लागि नेपाल प्रहरी प्रधान कार्यालयले बिदाइ कार्यक्रम तय गरेको छ ।