
नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरूको लगानी उत्पादनमूलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा लगानी गर्न नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गरेका छन् । नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले उक्त धारणा राखेका हुन् ।
अध्यक्ष ढकालले कोषहरूको लगानी उत्पादनमूलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउदै कोषको ध्यान त्यसतर्फ जानुपर्ने धारणा राखेका हुन् । उनले नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका कोषहरूको लगानी पूर्वाधार निर्माण,रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, हाइड्रोपावर लगायतका क्षेत्रमा उपयोग गर्नुपर्ने बताए ।
कोषहरूको झन्डै ५२ प्रतिशत भन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरूमा फिक्स डिपोजिटको रुपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने उनको धारणा रहेको थियो । जम्मा भएका फण्डहरु विकास निर्माण, उत्पादनशील क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी अघि बढ्नुपर्ने अध्यक्ष ढकालको सुझाव रहेको छ ।
अध्यक्ष ढकालले कोषहरूको धेरै फण्ड रहेको र उक्त फण्डको प्रयोग गर्न नसकिरहेकाले त्यसलाई रोजगारी सिर्जना, पूर्वाधार बनाउने कुराहरू, आम पब्लिकलाई सर्भिस दिनेकुरा लगायत उत्पादनमूलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा लगानी गर्न आवस्यक रहेको बताएका छन् ।