
चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा आठ महिनाको अवधिमा २० वटा गैँडा मृत भेटिएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएको हो ।
निकुञ्ज तथा यस आसपासका क्षेत्रमा बाघ तथा गोहीको आक्रमण, एकापसमा जुधाजुध, बिरामी भई, दलदलमा फस्नु र बुढो भएर उक्त संख्यामा गैँडाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जनाएका छन् ।
त्यस्तै यो आर्थिक वर्षमा चोरी–सिकारीका कारण गैँडा नमरेको बताउदै उनले गत आर्थिक वर्षमा २१ वटा गैँडा मरेको उनले जानकारी गराएका छन् । गतवर्ष मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले हो भने दुईवटा चोरी–सिकारीले र एउटाको कारण खुल्न नसकेको उनको भनाइ रहेको छ ।
यसअघि वन तथा वातावरण मन्त्रालयले प्राकृतिक कारणले धेरै गैँडा मरेपछि मृत्युको कारण खोजी गर्न समिति बनाएको थियो । पछिल्ला वर्षहरुमा प्राकृतिक कारणबाट हुने गैँडाको मृत्यु दर घट्दै गएको बताइएको छ ।
यसअघि सबैभन्दा धेरै आर्थिक वर्ष २०७५/७६ मा प्राकृतिक कारणले मात्र ४३ गैँडा मरेका थिए । सन् २०२१ को गणनाअनुसार नेपालमा गैँडाको सङ्ख्या ७ सय ५२ रहेको छ । एकसिङ्गे गैँडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ रहेको छ । त्यसैगरी बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा ३ गैँडा रहेको तथ्याङ्क छ ।