
महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको प्रति सांसदहरूले आपत्ति जनाएका छन् । सिरहाको औरही गाउँपालिका–५, मा महायज्ञ गर्ने भन्दै दलितको घर भत्काइएको प्रति बिरोध गर्दै सांसदहरूले आपत्ति जनाएका हुन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले घर भत्काइएको प्रति बिरोध गर्दै पीडित परिवारलाई न्याय दिन माग गरेका छन् । सिरहामा चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको छ ।
घर भत्काइएपछी पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएका छन् । महायज्ञका बजरंगी बाबाले दलित परिवारलाई त्यहाँ राखे महायज्ञ नहुने भनेपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव मिलेर घर भत्काइएको स्थानीयको भनाइ रहेको छ ।
त्यसरी कसैको बास नै नहुने गरि घर भत्काइएको प्रति आपत्ति जनाउँदै सांसदहरूले भत्र्सना सहित बिरोध गरेका छन् । कोठाका दुवै दैलोमा भगवान् महादेव, विष्णु, गणेश, लक्ष्मी सरस्वतीका फोटो टाँसेर भगवानप्रति आस्था राख्ने उक्त घर परिवारलाई भगवानकै नाममा गर्न थालिएको महायज्ञका लागि विस्थापित गरिएको थियो ।