
म्याग्दीमा हिँजो साँझ ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङमा ग १ त ७१९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा ट्याक्टर सडकबाट १५० मिटर तल पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा १८ वर्षीय देविन विकको लुलाङ स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको थियो भने २१ वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
साँझ भएको ट्याक्टर दुर्घटनामा स्थानीय कविराज विक, कमल विक, मालिका गाउँपालिका-६ दरबाङका विकास विक र धवलागिरि गाउँपालिका-४ का किस्मत विक चार जना घाइते भएका छन् । घाइतेहरुलाई प्रारम्भिक उपचारपछि सदरमुकाम बेनी पठाइएको बताइएको छ ।
दुर्घटनामा घाइते भएका मध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीलेका प्रहरी निरीक्षक सागर पौडेलले जनाएका छन् ।