Advertisement Banner
Advertisement Banner

१७ बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

सानो उमेरमा ठूलो मनः

२१ शुक्रबार , चैत्र २०८१एक बर्ष अगाडि

सानो उमेरमा ठूलो मनः

सानो उमेरमा ठूलो मनः लक्ष्यजीत र समृद्धिको अनाथ बालबालिकालाई सहयोग

सन्जिब दुलाल 

भक्तपुर ।  भक्तपुर नगरपालिकाको दरबार क्षेत्रस्थित बालमन्दिर आधारभूत विद्यालय मा अध्ययनरत २३ जना अनाथ बालबालिकालाई लक्ष्यजीत मल्ल (कक्षा ७) र समृद्धि मल्ल (कक्षा ५) ले शैक्षिक सामग्रीसहित विभिन्न आवश्यक सामानहरू प्रदान गरेका छन्।

काठमाडौंको काँडाघारीमा अध्ययनरत यी दाजु-बहिनीले विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला, कापी, कलम, पेन्सिल, कटर, पोशाक, जुत्ता, मोजा तथा नगदसमेत सहयोग गरेका हुन्। उनीहरूको यो योगदान स्वर्गीय हजुरआमा लोचनाकुमारी मल्ल (विद्यालयकी पूर्व प्रिन्सिपल) को स्मृतिमा गरिएको हो।

विद्यालयकी प्रधानाध्यापिका न्हुछेंलक्ष्मी गोरा का अनुसार विद्यालयमा नर्सरी, केजी, र कक्षा १ गरी तीन कक्षामा अध्ययनरत २३ जना सबै बालबालिका आमाबुबा विहीन अनाथ हुन्। यी विद्यार्थीहरू विद्यालयमै बस्छन्, खान्छन् र पढ्छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोरा प्रमुख अतिथिका रूपमा कार्यक्रममा उपस्थित थिए। उनले सानै उमेरमा सहयोगको महत्व बुझेर गरेका यी बालबालिकाहरूको योगदान प्रेरणादायी भएको बताए।

सानो उमेरमै सामाजिक उत्तरदायित्व बोध गर्दै गरेका लक्ष्यजीत र समृद्धिले यसअघि पनि विभिन्न विद्यालयहरूमा सहयोग गरिसकेका छन्। समृद्धिले “दानको महत्व बुझेकाले आफूभन्दा साना बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको” बताइन्।

विद्यालयमा सरकारद्वारा नियुक्त तीन शिक्षक (दुई जना दृष्टिविहीन) र तीन जना सहयोगी कर्मचारी कार्यरत छन्। विद्यालयमा अध्ययनरत बालबालिकाहरूले सहयोग पाउँदा निकै खुशी भएका थिए।

कार्यक्रमको संयोजन प्रेमध्वज मोक्तान ले गरेका थिए।