
सनातन हिन्दु धर्मावलम्बीले आज चैते दशैँ अन्तर्गत रामनवमी पर्व मनाउँदै छन् । आज चैत्र शुक्ल पक्षको नवमी तिथि भगवान रामको पूजाआराधना गरी मनाउन लागेका हुन् ।
त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट जन्मिएका श्रारीम मर्यादापुरूषका रूपमा परिचित छन् । साेहि तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौँ अध्यायमा उल्लेख गरिएकाे छ ।
त्यस्तै रामले रावणलगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख गरिएकाे छ । रामनवमी पर्वमा रामको चरित्र वर्णन गरिएका भागवतलगायतका पुराण, रामायणलगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा समेत रहेकाे छ ।
साेहि अवसरमा रामको जन्मभूमि भारतस्थित अयोध्या र ससुराली नेपालस्थित जनकपुरक्षेत्रमा उत्सव मनाइन्छ भने रामकाे विभिन्न स्थानकाे मठ मन्दिरमा पूजा पाठका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ ।