
केही दिनदेखि जारी नेपाल शिक्षक महासंघकाे आन्दोलनलाई थप सशक्त बनाउन तयारी गरेकाे छ । आन्दोलनलाई थप सशक्त बनाउन महासंघले भाेलि सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेकाे हाे ।
यसअघि महासंघले देशभरका सबै विद्यालय बन्द गरी शिक्षक कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आव्हान गरेकाे थियाे । त्यस्तै महासंघले त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन समेत आग्रह गरेको छ ।
गत माघ २० गतेदेखि शिक्षा ऐन जारी गर्नका लागि महासंघ निरन्तर आन्दोलनमा रहेकाे छ । यता सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै महासंघले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलनलाई निरन्तरता दिएको हाे ।
आन्दोलनका कारण विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तरपुस्तिका परीक्षण कार्य समेत प्रभावित भएको बताइएकाे छ । शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले अस्वीकार गर्दै आएको छ ।