
नेपाल बार एशोसिएशनको निर्वाचनको मतगणना भाेलि सोमबारदेखि हुने भएको छ । बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना सोमबारदेखि गर्न लागिएकाे हाे ।
नयाँ कार्यसमितिका लागि शनिवार भएकाे मतदानको मतपेटिका आज बेलुकासम्म काठमाडौँ आइपुग्ने र भाेलिदेखि मतगणना सुरु हुने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निराैलाले जनाएका छन् । बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९ सय ५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो ।
कूल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो भने काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठमा प्रतिस्पर्धा रहेका छन् ।
त्यस्तै वरिष्ठ अधिवक्ता प्रा.डा. मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहेका छन् भने वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ ।