
वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ । मुटु र फोक्सोसम्बन्धी समस्याका कारण बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हाे ।
नेपाली पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसाल वि.सं. १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा जन्मिएका थिए । रिसाल नेपाली मिडिया, समाजसेवा र मानवअधिकारको क्षेत्रमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिन्छन् ।
उनले आफ्नो मृत्युपछि शरीर अध्ययनका लागि पाटन अस्पताललाई दान दिने निर्णय गरेका थिए । भैरव रिसालले रेडियो सगरमाथामा लामो समय लोकप्रिय कार्यक्रम ‘उहिले बाजेका पालामा’ सञ्चालन गर्दै नेपाली इतिहास, संस्कृति र जनजीवनलाई जीवन्त बनाएका थिए ।
२०४८ सालको आम निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट भक्तपुरमा उम्मेदवार समेत बनेका रिसाल वामपन्थी विचारधारामा विश्वास राख्ने व्यक्ति हुन् । उनकाे परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।