
जनताले बुझ्दैनन्, बुझ्नेहरू बोल्दैनन् । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक कहालीलाग्दो छ । चालु आर्थिक वर्षको सुरूमा २४ खर्ब ३४ अर्ब रहेको ऋण ८ महिनामै बढेर २७ खर्ब हाराहारीमा पुगिसक्यो । स्रोत भन्छ– आन्तरिकतर्फ १३ खर्ब १५ अर्ब र बाह्य ऋणभार १३ खर्ब ६० अर्ब नाघेको छ । यतिका ऋणभार कहाँ लगानी भयो ? १७ अर्बमा आउनुपर्ने मेलम्ची ६४ अर्ब खर्च गरिसक्दा पनि राजधानीमा पानी आउँदैन किन ? यत्ति बुझे भ्रष्टाचारको महाभारत बुझिने छ ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले २ खर्ब ६९ अर्ब १५ करोड रूपैयाँ बराबरको आन्तरिक ऋण उठाएको छ । यस्तै, बाह्य क्षेत्रबाट ६५ अर्ब ४७ करोड रूपैयाँ प्राप्त गरेको छ ।
यही अवधिमा १ खर्ब ३४ अर्ब ४७ करोड बराबर तथा बाह्यतर्फ २४ अर्ब ५० करोड रूपैयाँ बराबरको ऋणको सावाँ तिरेको कार्यालयले जनाएको छ । त्यस्तै, यही अवधिमा ३६ अर्ब ९७ करोड रूपैयाँ बराबरको आन्तरिक ऋणको ब्याज भुक्तानी तथा ५ अर्ब ७७ करोड रूपैयाँ बराबरको बाह्य ऋणको ब्याज भुक्तानी गरेको तथ्यांक छ ।