
काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले दिउँसै टर्च बालेर प्रदर्शन गरेका छन् । शिक्षकहरूले बानेश्वर–बबरमहल सडक खण्डमा मोबाइलको टर्च बालेर प्रदर्शन गर्दै सरकारको सांकेतिक विरोध गरेका हुन् ।
उनीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् भने प्रदर्शनका कारण बानेश्वर–बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ । आज मोबाइलको टर्च बालेर प्रदर्शन गरेका शिक्षकहरुले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलन गरिरहेका छन् । चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका उनीहरूले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ समेत भनेका छन् ।
त्यस्तै शिक्षकहरूले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा समेत गरेका छन् । यता शिक्षकहरूको आन्दोलनले एसइई परीक्षाको उत्तर पुस्तीका परीक्षण समेत प्रभावित हुँदा नतिजा प्रकाशनमा समेत ढिलाइ हुने सम्भावना रहेको छ ।
यसअघि शिक्षकहरूले कालो पट्टी बाँधेर, सिट्ठी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए भने आज उनीहरूले मोबाइल र हेड ल्याम्प प्रयोग गरेर सरकारको ध्यानाकर्षण गराउन टर्च बालेर प्रदर्शन गरेका हुन् ।