
सिलिण्डर ग्यास पडकिएर अछाममा भीषण आगलागी भएकाे छ । अछामकाे बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको हाे ।
हिँजाे साँझ जयगडकाे मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर आगलागी भएको बताइएकाे छ । आगलागीका कारण बजारका विभिन्न पसलहरू जलेर ठूलो क्षति पुगेको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार आगोका कारण हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाडा पसल र गोकुल साउदको किराना पसल, किस्मत सुनारको सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, रतन साउदको घर र कालु सुनारको सुनचाँदी पसलमा क्षति पुगेको बताइएकाे छ ।
हिँजाे साँझ लागेकाे आगो निभाउन नेपाली सेनाको टोली, प्रहरी र सशस्त्र प्रहरी टोलीसँगै मङ्गलसेन नगरपालिकाको दमकल खटेको थियो । आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको प्रहरीको प्रारम्भिक अनुमान रहेकाे छ ।