
नेपाल मेडिकल काउन्सिलले २०८२ सालको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । काउन्सिलले स्नातक तहको दर्ता प्रमाणपत्र र स्नातकोत्तर तहको विशेष परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो ।
जसअनुसार स्नातक तहको दर्ता प्रमाणपत्र परीक्षा जेठ, असोज र माघमा हुने सूचनामा उल्लेख छ । यस्तै, स्नातकोत्तर तहको विशेष परीक्षा साउन, मंसिर र चैतमा हुनेछ । काउन्सिलले जेठमा हुने ७२ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि आवेदन फाराम भर्न आह्वानसमेत गरेको छ ।
जेठ १२ गतेदेखि १४ गतेसम्म परीक्षा सञ्चालन गरिने जानकारी दिँदै काउन्सिलले परीक्षामा सहभागी हुन चाहनेलाई चैत ३० गतेदेखि २८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न भनेको छ । वैशाख २९ र ३० गते विलम्ब शुल्कसहित अनलाइन आवेदन भर्न सकिनेछ ।
विदेशी कलेजमा भर्ना भई कोभिडका कारण नेपालमा इन्टर्नसीप गरिरहेका विद्यार्थीले परीक्षामा सामेल हुनका लागि इन्टर्नसिप पूरा गरेको तथा आफु भर्ना भएको विश्वविद्यालयबाट इन्टर्नसिपसहित अन्तिम प्रमाणपत्र प्राप्त गरेको गर्नुपर्ने सूचनामा भनिएको छ ।