
वर्षासँगै आएको चट्याङमा परि छुट्टाछुट्टै स्थानमा दुइजनाकाे मृत्यु भएकाे छ । झापाको गौरादह नगरपालिका–५ बालुबथानमा एकजना र बझाङकाे वित्थडचिर गाउँपालिका–३ मा एकजना गरि दुइजनाकाे चट्याङ लागेर मृत्यु भएकाे हाे ।
झापामा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा बसेर खेति गर्दै आएका उनकाे घरमै खाजा खाने क्रममा चट्याङ लागेर मृत्यु भएकाे हाे ।
त्यसैगरि बझाङमा वर्षासँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन् । प्रहरी निरीक्षक ठगुन्नाका अनुसार बुधबार साँझ वर्षासँगै आएको चट्याङमा परि बाेहराकाे मृत्यु भएकाे हाे ।