Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सीआरबीटीमा कडाई, राष्ट्रिय महत्त्वबाहेकका रिङ्ग टोन बजाउन शुल्क तिर्नुपर्ने

२९ शनिबार , चैत्र २०८१एक बर्ष अगाडि

सीआरबीटीमा कडाई, राष्ट्रिय महत्त्वबाहेकका रिङ्ग टोन बजाउन शुल्क तिर्नुपर्ने

अबदेखि मोबाइलमा अनावश्यक ‘रिङ्गब्याक टोन’ (सीआरबीटी) र सन्देश नबज्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यस्ता सन्देश नियन्त्रण गर्ने गरी सूचना निकालेको हो । यसअघि मन्त्रालयको सिफारिसपछि जुनसुकै निकाय तथा संघसंस्थाले निःशुल्क आफू अनुकूल सीआरबीटी बजाउने पाउने व्यवस्था थियो ।

तर, मन्त्रालयद्धारा आज जारी सूचनामा राष्ट्रिय महत्त्वबाहेकका रिङ्गब्याक टोनमा कडाई गर्न लागेको देखिएको छ । अब क्याबिनेटबाट राष्ट्रिय दिवस वा राष्ट्रियस्तरमा मनाउने भनेर निर्णय भएका विषयमा मात्र निःशुल्क रुपमा सीआरबीटी बजाउन अनुमति दिइने भएको छ ।

‘राष्ट्रिय दिवसहरु (संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवसलगायत) वा नेपाल सरकार, मन्त्रिपरिषद्बाट राष्ट्रिय दिवस वा राष्ट्रियस्तरमा मनाउने भनी निर्णय भएका विषयसम्बन्धी सामग्री वा विपद्, महामारी वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित पूर्वसूचना वा जानकारीमूलक सामग्रीसहितका सन्देशहरु सम्बन्धित निकायबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनुरोध भई आएका नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायक कम्पनीलाई निःशुल्क मोबाइल रिङ्ग ब्याकटोन बजाउन अनुमति दिन सक्नेछ,’ सूचनामा भनिएको छ ।

यसबाहेक कुनै सरकारी निकाय, सार्वजनिक संस्था वा सामाजिक संस्थाको स्थापना दिवस, विशेष दिवस वा ती निकायसँग सम्बन्धित जानकारीमूलक सूचना, सन्देश तथा कुनै धर्म, जातजाति, भौगोलिक क्षेत्र, समुदायको चाडपर्व, मेला वा विशेष अवसरसम्बन्धित सन्देश वा शुभकामना, धुनहरु बजाउन शुल्क  तिर्नुपर्ने मन्त्रालयले जनाएको छ । सोको अनुमति र शुल्क निर्धारण भने दूरसञ्चार प्राधिकरणबाट हुने सूचनामा उल्लेख छ ।