
आजदेखि २०८२ को नयाँ शैक्षिक सत्र सुरू भएसंगै विद्यालयहरूले भर्ना अभियान सुरू गरेका छन् । नयाँ शैक्षिक सत्र २०८२ को लागि भर्ना अभियान सुरू गरिएकाे हाे ।
नयाँ शैक्षिक सत्रमा ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने मुल नारासहित भर्ना अभियान सुरु भएको छ । नेपाल सरकारले पनि नयाँ शैक्षिक सत्रकाे अभियान सफल बनाउन सबै अभिभावक तथा सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
शैक्षिक सत्र २०८२ काे अभियान सफल बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरको निर्णयसहित सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइहरूलाई ७ बुँदे अनुरोधसहित भर्ना अभियानलाई सहयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुने गरी भर्ना अभियान सञ्चालन गर्न/गराउन समेत आग्रह गरेको छ ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले एक शुभकामना सन्देश जारी गर्दै विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गर्दै समृद्धिको एक आधार शिक्षा क्षेत्र भएकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षा क्षेत्रका सबै अभियन्ताहरु लाग्नुपर्ने बताएका छन् ।
त्यस्तै प्रधानमन्त्रीले शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गरेर दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको पनि सन्देश मार्फत स्पष्ट पारेका छन् ।