
यौन दुर्व्यवहारमा परेकी सिरहाको नवराजपुर गाउँपालिका-३, जगतपुर दोनवारी टोलकी एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । चार महिनाअघि गाउँका दुई युवकबाट यौन दुर्व्यवहार भोगेकी महिला आफ्नै घरमै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
मृत फेला परेकी सिरहाको जगतपुर दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय दुई वर्षीया छोरीकी आमा हुन् । उनको श्रीमान् वैदेशिक रोजगारीमा रहेकाले माइतीमा बस्दै आएकी उनलाई गत पुस ९ गते गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले यौन दुर्व्यवहार गर्न खोजेका थिए ।
परालको थुप्रोमा जबर्जस्ती करणी प्रयास भएपछी प्रतिकार गरेर ज्यान जोगाइ रुँदै घर फर्केकी उनले आमासहित प्रहरीकोमा उजुरी गर्न पुगेकी थिइन् । तर प्रहरीले तत्काल उजुरी लिन अस्वीकार गरेको र त्यसको साढे दुई महिनापछि फागुन २५ गते उजुरी दर्ता भएको थियो ।
उजुरी दर्ता भए पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको भोलिपल्ट आरोपितहरू फरार भएको र पक्राउ प्रक्रिया अघि नबढेकोमा स्थानीय आक्रोशित भएका थिए । यता नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय प्रवक्ता सुनील सदाले राजनीतिक दबाबमा प्रहरी चुप रहेको र प्रहरीको भूमिका शंकास्पद भएकाले निष्पक्ष छानबिनको माग गरेका छन् ।