
आज बिहान मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीस्थित सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका हुन् ।
उक्त सडकखण्डमा आज बिहान इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९९ नम्बरको यात्रुबाहक बस दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बस सडकबाट १० मिटर तल खसेकाे बताइएकाे छ ।
दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार बस चालक बाराको कोल्बी नगरपालिका-११ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेकाे जनाइएको छ ।