
मकवानपुरमा विद्युतीय (इभि) गाडी दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ भने १४ जना घाइते भएका छन् । गएराति मकवानपुरगढी गाउँपालिका-२, धरमपानीस्थित कान्ती लोकपथमा भएको गाडी दुर्घटना भएकाे हाे ।
काठमाडौँबाट हेटौंडातर्फ गइरहेको बा.प्र ०१-००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी दुर्घटनामा दुई जनाले ज्यान गुमाएकाे प्रहरीले जनाएकाे छ । राति करिब १ बजेकाे समयमा गाडी सडकबाट झण्डै २ सय मिटर तल खसेर दुर्घटना भएकाे थियाे ।
उक्त दुर्घटनामा परी रौतहटको दुर्गाभवानी गाउँपालिका-५ काे ५० वर्षीया निलमदेवी राउत र सर्लाहीको बागमती गाउँपालिका-७ काे १३ वर्षीया मानुसी मगरको घटनास्थलमै मृत्यु भएको बताइएकाे छ । गाडीमा चालकसहित १६ जना सवार रहेका थिए ।
दुर्घटनामा परि १४ जना घाइते भएकाे र जसमध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ भने उनिहरूकाे हेटौंडा र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । चालक सर्लाहीका २९ वर्षीया कमल बहादुर दर्लामी टाउकोमा चोट लागेको छ ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरि रहेकाे जनाएको छ ।