
चैतमा आगलागीका घटनाबाट एक दर्जन बढीले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका अनुसार गएको महिनामा आगलागीबाट १५ जनाको निधन भएको छ । ९६ जना भने घाइते भएको प्रहरीको भनाइ छ ।
मृत्यु हुनेमा महिला र पुरुष सात–सात जना र एक बालिका रहेको जानकारी दिँदै प्रहरीले ४२ जना पुरुष, ४५ जना महिला, तीन बालक र ६ बालिका घाइते भएको बताएको छ । आगलागीबाट ३९ वटा घरपरिवार विस्थापित भएका छन् ।
एक महिनाको अवधिमा आगलागीबाट तीन सय ५४ वटा घर र दुई सय ५६ वटा गोठमा क्षति पुगेको छ । तीन सय ६ वटा पशु चौपायासमेत आगलागीमा परी मरेका छन् ।
प्रहरीका अनुसार ५२ करोड ६९ लाख ८५ हजार ६७० रुपैयाँ बराबरको धनमाल आगोले जलेर नष्ट भएको छ । आगलागीका सबैभन्दा बढी घटना कोशी प्रदेशमा भएका छन् । कोशीमा गएको एक महिनामै आगलागीका चार सय ३४ वटा घटना भएका छन् ।
त्यसपछि, लुम्बिनीमा दुई सय २७, बागमतीमा एक सय ७९, मधेशमा एक सय ५१, सुदूरपश्चिममा एक सय, गण्डकीमा ९०, काठमाडौं उपत्यकामा ६८ र कर्णालीमा ६२ वटा घटना घटेका छन् ।