
बाराकाे यातायात व्यवस्था कार्यालय कलैयाँले चालु आर्थिक वर्षकाे हालसम्म ७ करोड बढी राजस्व संकलन गरेकाे छ । कार्यालयले चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्म ७ करोड ३६ लाखभन्दा बढी राजस्व संकलन गरेकाे हाे ।
कार्यालयले संकलन गर्ने राजस्व पछिल्लो समय उत्साहजनक ढंगले वृद्धि भइरहेको कार्यालय प्रमुख अविन्दर दासले जनाएका छन् । कार्यालय प्रमुख दासकाअनुसार चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्म ७ करोड ३६ लाख ५७ हजार ६ सय ७५ रूपैयाँ राजस्व संकलन भएको बताइएकाे छ ।
जसअनुसार साउनदेखि माघको पहिलो सातासम्म ४ करोड ३० लाख राजस्व संकलन गरेको थियो । त्यसपछि माघदेखि वैशाखको पहिलो सातासम्म ३ करोड ६ लाख ५५ हजार राजस्व संकलन गरेकाे हाे ।
त्यसैगरि तीन महिनादेखि प्रति महिना औसतमा १ करोड २ लाख राजस्व संकलन हुँदै आएको छ भने कार्यालयले आन्तरिक सुशासन र सेवा प्रवाहलाई चुस्त बनाएसँगै राजस्व संकलन बढेको बताइएको छ । जसमा सबैभन्दा धेरै राजस्व चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट ३ करोड ५४ लाख ४० हजार ५६ रूयैयाँ र सवारीसाधन करबाट ३ करोड ४० लाख ३९ हजार ९ सय ४३ रूपैयाँ राजस्व संकलन भएको हाे ।
चालु आवमा करिब रु. १० करोड राजस्व संकलन हुने अनुमान गरेको कार्यालयले यातायात क्षेत्रको आम्दानीबापत ४० लाख ८४ हजार ५ सय ४० रूपैयाँ राजस्व संकलन भएको जनाएको छ । त्यस्तै अन्य प्रशासनिक सेवा शुल्कबापत २५ हजार ५ सय र बेरुजुबापत ६७ हजार ३ सय ३६ रूपैयाँ संकलन भएको बताइएकाे छ ।