
दाङकाे तुलसीपुरमा श्रीमानको किरिया बसेकी महिलाको मृत्यु भएको छ । श्रीमानको किरिया बसेकी तुलसीपुर-७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको मृत्यु भएको हाे ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार श्रीमानको किरिया बसेकी शर्मा शनिबार बिहान अचानक बिरामी भएपछि उपचारका लागि राप्ती लाइफ केयर अस्पताल मोतिपुर लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएकाे बताइएकाे छ ।
उनि पाँच दिनअघि मृत्यु भएका पति नारायणप्रसाद आचार्यको किरियामा बसेकी थिइन् भने छैटौँ दिनमा उनको पनि मृत्यु भएकाे छ । शर्मा नेपाल रेडक्रसका केन्द्रीय सदस्य तथा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध थिइन् ।
उनको निधन भएपछि परिवार, आफन्त तथा स्थानीय शोकमा डुबेका छन् भने उनको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको बताइएकाे छ ।