
चट्याङ लागेर कास्की र गोरखामा तीन जनाको मृत्यु भएको छ । चट्याङले कास्कीको अन्नपूर्ण गाउँपालिका-११, मा दुईजना र गोरखाको शहीद लखन गाउँपालिका–१, मा एक जनाको मृत्यु भएको हो ।
कास्कीमा चट्याङले अन्नपूर्ण-११ स्थित त्रिवेणी ताल पदमार्गमा कार्यरत मजदुर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-४, का भरतकुमार राई र महेश राईको दुईजना मजदुरको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिएका छन् । त्यहाँ ९ जनाले काम गरिरहेको वेला दिउँसो आएको हावाहुरी र पानीसँगैको चट्याङले दुई जनाको मृत्यु भएकोर अरु कामदार सकुशल रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै गोरखामा हिँजो साँझ वर्षासहित परेको चट्याङमा घरमा बसिरहेका शहीद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षीय राजु खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते भएका खनालको सदरमुकामस्थित प्रदेश अस्पताल गोरखामा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिएका छन् ।
त्यसैगरि चट्याङ लागेर पालुङटार नगरपालिका-७, कि ५० वर्षीय सुकमाया आले र उनकी बुहारी १८ वर्षीय विपना आले घाइते भएको र हाल उनीहरुको चितवनस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।