
जनकपुरधामस्थित जानकी मन्दिरमा जानकी जन्मोत्सव सुरु भएको छ । बैशाख १५ गते सोमबारदेखि जानकी मन्दिरमा जन्मोत्सवको औपचारिक कार्यक्रम सुरु भएको हो ।
आजदेखि जानकी मन्दिरमा पवित्र जानकी जन्मोत्सवको अवसरमा हरेक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जनाएका छन् । त्यस्तै नियमित रुपमा अखण्ड रामायण पाठ पनि जारी रहने बताइएको छ ।
वैशाख २३ गते मङ्गलबार जन्मोत्सवको मुख्य दिन भएकाले बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिनेछ भने उक्त दिन अपराह्न १२ बजे जन्म आरती तथा दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने भएको छ ।
जानकी मन्दिर व्यवस्थापन समितिका अनुसार वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिने र वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइने तयारी रहेको छ । यसरी जनकपुरधाममा जानकी जन्मोत्सव धुमधामका साथ मनाउन तयारी गरिएको छ ।