
गत चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा गएराति अबेरसम्म भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेको हो ।
गएराति अबेरसम्म भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले स्थगित भएको थियो । वार्ताको नेतृत्व सरकारकोतर्फबाट शिक्षामन्त्री रघुजी पन्त र महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेका थिए ।
वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका छन् । शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको बताएका थिए । उनले महासंघसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको जानकारी समेत जानकारी दिएका छन् ।
यता नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताएका छन् । उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने समेत उल्लेख गरेका छन् ।
यसअघि मन्त्रिपरिषद्को बैठकले शिक्षक महासंघसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो । विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले झन्डै महिना दिनदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् ।