
काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुलाई जेठकाे पहिलो साताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको छ । महानगरभित्रका सम्पूर्ण संस्थागत विद्यालयहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिइएको हो ।
कक्षा १ देखि १० सम्म विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघट्ने गरी छात्रवृत्तिको सूचना टाँसेर विद्यार्थी छनौट गरी वितरण गर्न भनिएको छ ।
परिपत्रमा उल्लेख छ, ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ तथा महानगर शिक्षा ऐन, २०७५ अनुसार कक्षा १ देखि १० सम्म विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघट्ने गरी विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न, असहाय, गरिब, अपांग, दलित, जनजाति, द्धन्द्ध पीडित र शहिद परिवारका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन विद्यालयको सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा निजका अभिभावकबाट आवेदन लिई मिति २०८२ जेठ पहिलो हप्ताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन अनुरोध छ ।’
छात्रवृत्ति वितरण गर्दा महानगरको शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) को व्यवस्थाबमोजिम छात्रवृत्ति छनौट समितिको निर्णयबाट मात्र उपलब्ध गराउनुपर्ने महानगरले जनाएको छ । छनौट समितिमा सम्बन्धित वडाध्यक्ष वा निजले तोकेको वडासदस्य संयोजक हुनेछ भने विद्यालयको प्रधानाध्यापक, विद्यालय निरीक्षक तथा शिक्षा अधिकृत र अभिभावक प्रतिनिधि सदस्य रहनेछन् ।