
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बीपी कोइराला र योगमाया राष्ट्रिय पुरस्कार, २०८१ बाट सम्मानित हुने व्यक्तिको नाम घोषणा गरेको छ । बीपी पुरस्कार दुवै विधामा दुई–दुई जना र योगमाया पुरस्कार एक जनालाई प्रदान गर्न लागिएको हो ।
मन्त्रालयका अनुसार बीपी कोइराला राष्ट्रिय पुरस्कारको राजनीतिक दर्शनतर्फ सुनसरीकी मीना सुब्बा र अछामका नयनसिंह कडायतलाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कार दुई लाख रुपैयाँ राशीको हो ।
दुई जनालाई एक–एक लाखका दरले प्रदान गरिनेछ । साहित्यतर्फ पाँचथरका तिलविक्रम नेम्वाङ (बैरागी काइँला) र मोरङका भुवन ढुंगानालाई दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
यो पुरस्कार पनि दुई लाख रुपैयाँ राशीको रहेकोमा एक–एक लाखका दरले प्रदान गरिने छ । एक लाख रुपैयाँ राशीको योगमाया राष्ट्रिय पुरस्कार भने बर्दियाकी डा.निलम कार्की निहारिकालाई प्रदान गरिँदैछ ।