
काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको तने बोडीमा अत्याधिक विषादी भेटिएको छ । सर्लाहीबाट बिक्रीका लागि ल्याइएको उक्त बोडीमा अधिक मात्रामा विषादी पाइएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज विभिन्न १८ वटा तरकारीको विषादी परीक्षण गरिएको थियो । त्यसमध्ये सर्लाहीबाट भित्रिएको तने बोडीमा ९५ दशमलब २७२ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको समितिले जनाएको छ ।
उक्त बोडीलाई नष्ट गरिएको समितिको भनाइ छ । कालीमाटी तरकारी बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको परीक्षण हुँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम भएमा उपभोग्य योग्य, ३५ देखि ४५ प्रतिशतसम्म रहेमा केही दिन राखेर खान मिल्ने र सोभन्दा बढी भेटिए खान अयोग्य मान्ने गरिन्छ ।