Advertisement Banner
Advertisement Banner

१९ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

वर्षासँगै हिमपातकाे सम्भावना सतर्कता अपनाउन आग्रह

०५ आइतबार , जेठ २०८२१४ दिन अगाडि

वर्षासँगै हिमपातकाे सम्भावना सतर्कता अपनाउन आग्रह

आज देशकाे केहि भू-भागमा वर्षासँगै हिमपातकाे सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएकाे छ । काठमाडौं उपत्यकाकालगायत बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हिमपातकाे सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएकाे हाे ।

अहिले काठमाडौं उपत्यकाकाे केही स्थान र विभिन्न प्रदेशका केहि भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसाे बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा मेघगर्जन चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको पनि  महाशाखाले जनाएको छ ।

त्यसैगरि मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरीबतासको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी तथा स्थानीय वायुको साथै जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेकाे हाे ।

अझै केही दिन बदली र वर्षाको सम्भावना रहेकाे छ भने बदली र वर्षाको मात्रा बढेसँगै अहिले देशका धेरै स्थानको तापक्रम घटेको बताइएकाे छ । हिजो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस मापन भएको थियाे । देशकाे सबैभन्दा बढी तापक्रम धनगढीलगायतका स्थानमा ३७ डिग्री सेल्सियससम्म पुगेकाे महाशाखाका माैसमविद्हरूले जनाएका छन् ।